काठमाडौं, असार ३१। नेकपा (एमाले)का सांसद राजेन्द्र राईले करार तथा अस्थायी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारसँग माग गर्नुभएको छ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले अर्थ मन्त्रालयअगाडि भेला भएका करार तथा अस्थायी कर्मचारीहरूसँग भेटघाट गर्दा उनीहरूको चिन्ता र पीडा नजिकबाट बुझेको बताउनुभयो।
उहाँले वर्षौँदेखि राज्यको सेवा प्रवाहमा खटिएका करार र अस्थायी कर्मचारीलाई हटाउने तयारीले उनीहरू र उनीहरूको परिवारको भविष्य अन्योलमा पर्ने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद राईले, “एकातिर सरकारले युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता व्यक्त गर्छ, अर्कोतिर वर्षौँदेखि काम गरिरहेका कर्मचारीको रोजगारी नै खोस्ने तयारी गरिरहेको छ। सरकार नयाँ रोजगारी सिर्जना गर्न लागेको हो कि भइरहेको रोजगारी खोस्न?” भन्दै प्रश्न गर्नुभयो।
उहाँले दैनिक हजारौँ नेपाली युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला न्यून पारिश्रमिकमा स्वदेशमै सेवा गरिरहेका कर्मचारीलाई विस्थापित गर्नु न्यायोचित नहुने धारणा व्यक्त गर्नुभयो।
सांसद राईले करार तथा अस्थायी कर्मचारीको योगदानको सम्मान गर्दै उनीहरूको रोजगारीको संरक्षण गर्न र आवश्यक नीति तथा निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभयो।












प्रतिक्रिया दिनुहोस्