जनता टाइम्स

३१ असार २०८३, बुधबार १६:३४

पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको छ : प्रधानमन्त्री बालेन्द्र शाह


काठमाडौं, असार  ३१  । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाएको बताउँदै होटल व्यवसायीहरूको दीर्घकालीन चिन्ता समाधानतर्फ सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको विकास यात्राको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गर्नुभयो। उहाँले व्यवसायीलाई कानुनको पूर्ण पालना गर्दै व्यावसायिक जिम्मेवारी निर्वाह गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सहकार्यका सम्भावना अध्ययन गर्न सुझाव दिनुभयो।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको पनि सहभागिता रहेको थियो।

हानका पदाधिकारीहरूले नेपालका होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउँदै हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिरहेको उल्लेख गर्नुभयो। पर्यटक आगमन वृद्धि भए रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुग्ने र वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन होटल उद्योगले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा उहाँहरूले राख्नुभयो।

उहाँहरूले नेपालमा आरोग्य पर्यटन, डेस्टिनेसन वेडिङ र क्रस–बोर्डर पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै सरकारसमक्ष विभिन्न नीतिगत सुधारका प्रस्ताव प्रस्तुत गर्नुभयो।

हानले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउन, २५ शय्यासम्म अनिवार्य गरिएको संक्षिप्त वातावरणीय मूल्याङ्कनको सीमा ५० शय्यासम्म विस्तार गर्न तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याई नेपाल एयरलाइन्सको सेवा सुधार गर्न आग्रह गरेको छ।

त्यस्तै, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनी व्यवस्था संशोधन, डेस्टिनेसन वेडिङका लागि गरगहना आयात प्रक्रिया सहज बनाउने तथा आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि प्रभावकारी प्रचार रणनीति अपनाउन पनि हानले सरकारसँग अनुरोध गरेको छ।

छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्कीसहित सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।