काठमाडौं, असार ३१ । गृहमन्त्री सुधन गुरुङसँग भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएपछि मिटरब्याज पीडितहरू बाराको निजगढमा गृहमन्त्रीको प्रतीक्षामा बसिरहेका छन्। प्रहरी टोली वार्तास्थलमा पुगिसकेको भए पनि गृहमन्त्री बुधबार साँझसम्म वार्तास्थलमा नपुग्दा अन्योल कायम रहेको छ।
जनकपुरधामबाट असार २५ गते न्यायको माग गर्दै काठमाडौं केन्द्रित पैदल यात्रा सुरु गरेका पीडितहरूले मंगलबार राति अबेरसम्म उद्योग वाणिज्य संघको भवनमा सरकारसँग छलफल गरेका थिए। छलफलमा कुनै सहमति हुन नसकेपछि बुधबार पुनः वार्ता गर्ने सहमति भएको थियो।
तर दिनभरको प्रतीक्षापछि पनि गृहमन्त्री नआएपछि पीडितहरू सरकारबाट आफ्नो मागका विषयमा स्पष्ट निर्णयको प्रतीक्षामा रहेका छन्। उनीहरूले वार्ता सम्पन्न भएपछि मात्रै आगामी आन्दोलन र यात्राबारे निर्णय गर्ने जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक स्थानीय नेताका अनुसार गृहमन्त्री गुरुङ बुधबार सिमरामा पार्टीका कार्यकर्तासँग भेटघाट तथा छलफलमा व्यस्त रहेकाले वार्तास्थलमा पुग्न ढिलाइ भएको हो।
जिल्ला प्रहरीका एक अधिकृतका अनुसार गृहमन्त्रीले वार्ताका लागि प्रहरी टोलीलाई दिउँसो नै निजगढ पठाउनुभएको थियो। वार्तास्थलमा प्रदेश प्रहरी कार्यालयका डीआईजीदेखि जिल्ला प्रहरी प्रमुख (एसपी) सम्मको टोली पुगेको छ भने प्रहरी अधिकारीहरूले पीडितहरूसँग छलफल र समन्वय गरिरहेका छन्।
मिटरब्याज पीडितहरूले सरकारसँग भएका पूर्वसहमति कार्यान्वयन, फर्जी लिखत खारेज, विशेष कानुन निर्माण तथा न्याय सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन्।













प्रतिक्रिया दिनुहोस्