जनता टाइम्स

३१ असार २०८३, बुधबार १७:०५

अखिलका कार्यकर्तामाथिको पक्राउप्रति एमालेको आपत्ति, रिहाइको माग


काठमाडौं, असार  ३१ । नेकपा (एमाले)ले सिंहदरबार प्रवेशद्वारमा विरोध प्रदर्शनका क्रममा अनेरास्ववियु (अखिल)का कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यार्थीमाथि दमन गरिएको आरोप लगाउनुभयो।

उहाँले अखिलका कार्यकर्ता सिंहदरबार जलाउन नभई राज्य आतंकविरुद्ध आवाज उठाउन र कानुनी राज्य तथा विधिको शासनको पक्षमा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न आएको बताउनुभयो।

“अनेरास्ववियुका विद्यार्थी सिंहदरबार जलाउन आएका थिएनन्। उनीहरू कानुनी राज्य र विधिको शासनको पक्षमा आवाज उठाउन आएका थिए,” उहाँले भन्नुभयो, “पक्राउ परेका अखिलका अध्यक्ष दीपक धामीलगायत सबैलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्दछु।”

बुधबार बिहान सिंहदरबारको दक्षिण गेटअघि मोटरसाइकल तेर्स्याएर विरोध प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस घटनाप्रति एमालेले संसद्मार्फत आपत्ति जनाउँदै शान्तिपूर्ण विरोध प्रदर्शनमाथि बल प्रयोग नगर्न र लोकतान्त्रिक अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ।

यसै बिच संयुक्त विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरी साे कार्यकाे निन्दा गरेका छन् ।