जनता टाइम्स

३१ असार २०८३, बुधबार २०:०६

गृहमन्त्रीको प्रतीक्षामा मिटरब्याज पीडित, निजगढमा रोकिएपछि आन्दोलन थप चर्किने संकेत


काठमाडौं,  असार ३१ । जनकपुरधामबाट न्यायको माग गर्दै काठमाडौं केन्द्रित पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरू गृहमन्त्री सुधन गुरुङसँगको वार्ताको प्रतीक्षामा बाराको निजगढमा दिनभर रोकिएका छन्। तर, गृहमन्त्री निर्धारित समयमा नपुग्दा आन्दोलन थप चर्किने संकेत देखिएको छ।

मंगलबार गृहमन्त्री गुरुङले पीडितसँग प्रारम्भिक छलफल गर्नुभएको थियो। छलफल निष्कर्षमा नपुगेपछि बुधबार पुनः वार्ता गर्ने सहमति भएको थियो। त्यसअनुसार पीडितहरू बिहानदेखि नै निजगढमा प्रतीक्षारत रहे पनि गृहमन्त्री वार्तास्थलमा नपुग्नुभएको हो।

यसबीच गृहमन्त्री गुरुङ पर्सा राष्ट्रिय निकुञ्ज र आसपासका नहर क्षेत्रको अवलोकनमा व्यस्त रहनुभएको जनाइएको छ।

गृहमन्त्रीको प्रतीक्षामा दिनभर बसेका पीडितहरू अब थप प्रतीक्षा नगर्ने पक्षमा देखिएका छन्। काठमाडौंतर्फ अघि बढ्न खोज्दा प्रहरी टोलीले उनीहरूलाई रोक्दै वार्ताको प्रतीक्षा गर्न आग्रह गरेको थियो।

मिटरब्याज पीडित संघर्ष समितिका भोजपुरा कमाण्ड इञ्चार्ज शिवशंकर महतोले राति ९ बजेसम्म पनि गृहमन्त्री वार्तास्थलमा नआए प्रहरीको घेरा तोडेर काठमाडौंतर्फ पैदल यात्रा पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ। उहाँले आन्दोलन रोक्ने प्रयास नगर्न सरकारलाई आग्रह गर्दै आफूहरू न्याय प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो।

मिटरब्याज पीडितहरूले सरकारसँग भएका पूर्वसहमति कार्यान्वयन, फर्जी लिखत खारेज, विशेष कानुन निर्माण र न्याय सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन्।