धनुषा, साउन ५ । धनुषा सदरमुकाम जनकपुरधामस्थित जानकी मन्दिरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आउने भएपछि स्वागतका लागि पुगेका कार्यकर्ताहरू मन्दिरबाट लेखिटिएका छन् ।
साम्पाङ आउने थाहा भएपछि भेला भएका हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका हुन् । सो क्रममा मन्दिर परिसरमा भागदौड समेत मच्चिएको थियो ।
पार्टी कार्यक्रममा सहभागी हुन साम्पाङ मंगलबार दिउँसो जनकपुर आउने र जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम थियो । हिन्दु सम्राट सेनाका युवाहरूले श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङबाट बारम्बार धार्मिक अतिवाद फैलाउने अभिव्यक्ति आएको कारण उनको विरोध गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेले प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ आउने भएपछि केही मानिसले विवाद गर्न खोजेकाले सुरक्षाकर्मी मन्दिर परिसरमा परिचालन गरिएको जानकारी दिनुभयो ।
मन्दिर परिसरमै भागदौडको स्थिति सिर्जना भएपछि मन्दिरको चारैतिर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मन्दिर प्रवेश गर्ने मुख्यद्वारमै प्रहरी परिचालित भएको छ ।














प्रतिक्रिया दिनुहोस्