जनता टाइम्स

५ श्रावण २०८३, मंगलबार २१:३५

नेपाल फर्कंदै देउवाको चेतावनी : ‘सरकार प्रतिशोधात्मक बन्न सक्छ, लोकतन्त्रको रक्षा गर्न सबै एकजुट होऔँ’


काठमाडौं, ५ साउन ।  नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो उपचारपछि स्वदेश फर्किने तयारी गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। मंगलबार जारी विस्तृत सन्देशमार्फत उहाँले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने चेतावनी दिँदै लोकतन्त्र, संविधानवाद र राष्ट्रिय एकताको पक्षमा उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपालीलाई आह्वान गर्नुभएको हो।

पूर्वप्रधानमन्त्री देउवाले आफ्नो सन्देशको सुरुवात जननायक बीपी कोइरालाको स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण गर्दै गर्नुभएको छ। उहाँले बीपीको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापको राजनीतिक दर्शन आज पनि नेपाली राजनीतिका लागि मार्गदर्शक रहेको उल्लेख गर्नुभएको छ।

देउवाले आफूले छ दशकभन्दा लामो राजनीतिक यात्रामा जेल, प्रतिबन्ध, दमन र अनेक चुनौती सामना गरे पनि लोकतन्त्र, संविधानवाद र जनअधिकारको पक्षबाट कहिल्यै पछि नहटेको उल्लेख गर्नुभएको छ। उहाँले नेपाली कांग्रेसले शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्पपछिको पुनर्निर्माण र कोभिड–१९ महामारीजस्ता कठिन समयमा राष्ट्रको नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्नुभएको छ।

उहाँले उपचारका क्रममा विदेशमा रहँदा पनि आफ्नो ध्यान निरन्तर देशको राजनीतिक अवस्थामै केन्द्रित रहेको बताउँदै पछिल्ला घटनाक्रमले लोकतान्त्रिक मूल्य र संस्थामाथि चुनौती थपिएको टिप्पणी गर्नुभएको छ। फरक विचारप्रति असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा दमन तथा प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ।

देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना हुने संकेत देखिएको उल्लेख गर्नुभएको छ। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणको माध्यम बनाउन खोजिएको भन्दै उहाँले यसले लोकतान्त्रिक प्रणाली कमजोर बनाउने चेतावनी दिनुभएको छ।

उहाँले लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको रक्षा गर्नु भएको उल्लेख गर्दै नेपाली कांग्रेसलाई अहिले केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र नभई लोकतन्त्र, संविधान, राष्ट्रियता र जनविश्वास जोगाउने ऐतिहासिक जिम्मेवारी थपिएको बताउनुभएको छ।

फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भ उल्लेख गर्दै देउवाले जनताले विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश दिएको यथार्थलाई आफूहरूले सम्मान गरेको बताउनुभयो। कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्दै सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता राखे पनि सरकारको कार्यशैलीले राजनीतिक सहकार्यको वातावरण कमजोर बनाएको उहाँको आरोप छ।

बीपी कोइरालाको २०३३ सालको राष्ट्रिय मेलमिलाप नीतिको स्मरण गर्दै देउवाले आज पनि देशलाई प्रतिशोधभन्दा सहकार्य, विभाजनभन्दा एकता र अविश्वासभन्दा विश्वास आवश्यक रहेको उल्लेख गर्नुभयो। इतिहासको अनुभव, नयाँ पुस्ताको ऊर्जा र आधुनिक प्रविधिको उपयोगमार्फत राष्ट्रिय संवाद र साझा सहकार्य अघि बढाउनुपर्ने उहाँको धारणा छ।

आफ्नो सन्देशको अन्त्यमा देउवाले आफू पुनः नेपाली भूमिमा पाइला टेक्न लागेको जानकारी दिँदै सरकार प्रतिशोधात्मक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमा आफू पूर्ण रूपमा आशावादी रहेको बताउनुभएको छ। उहाँले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सबै राजनीतिक शक्ति, नागरिक समाज, युवा तथा आम नेपालीलाई आह्वान गर्दै आफ्नो निष्ठा र प्रतिबद्धता दोहोर्याउनुभएको छ।