काठमाडौं, साउन ७ । जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यूनचापीय रेखा औसत स्थानमै रहेको छ। अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
आज देशका पहाडी र हिमाली भूभागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, सडक तथा हवाई यातायात, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले विभागको पछिल्लो मौसम अपडेट नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।














प्रतिक्रिया दिनुहोस्