काठमाडौं, साउन ७ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी र सडक विभागका अनुसार पाँच प्रदेशका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित बनेको छ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। इलामको मेची राजमार्ग र खोटाङको मध्यपहाडी लोकमार्ग (दिक्तेल–रूपाकोट खण्ड) भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
बागमती प्रदेशमा विपी राजमार्गको काभ्रे खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिएको छ। कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने दोलखाको लामासाँघु–रामेछाप सडक पनि बाढीका कारण बन्द रहेको छ।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेंसीसहर–मनाङ सडक र म्याग्दीको बेनी–जोमसोम सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको भेरी करिडोर (जाजरकोट–डोल्पा खण्ड) बाढीका कारण बन्द छ भने सुदूरपश्चिमको डडेलधुरास्थित केआई सिंह राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
अधिक वर्षा जारी रहेकाले थप पहिरो र बाढीको जोखिम रहेको भन्दै अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित प्रहरी कार्यालय वा सडक विभागबाट सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।















प्रतिक्रिया दिनुहोस्