धनगढी, साउन ९ । २४औँ सत्याग्रहमा रहनुभएका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल लगिएको छ।
शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालको टोलीले स्वास्थ्य परीक्षण गर्दा उहाँको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मात्र रहेको पाइएपछि तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न सिफारिस गरिएको थियो। त्यसलगत्तै उहाँलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा सारिएको हो।
डा. केसी बिहीबारदेखि धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालामा पाँच बुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसिरहनुभएको थियो। उहाँका सहयोगी डा. अमृत जैशीका अनुसार स्वास्थ्य अवस्था बिग्रँदै जाँदा मांसपेशी बाउडिने, बोल्न असहज हुने तथा खुट्टाको शल्यक्रियाका कारण हिँडडुल गर्न र शौचालय जानसमेत कठिनाइ भइरहेको छ।
यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले डा. केसीका मागप्रति सकारात्मक रहेको जनाउँदै वार्तामार्फत समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शुक्रबार साँझ मन्त्री पोखरेलले डा. केसीका सहयोगीसँग तथा राति स्वयं डा. केसीसँग टेलिफोन संवाद गर्नुभएको थियो।
संवादका क्रममा डा. केसीले पाँच बुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत तत्काल ३०० शय्याको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको पठनपाठन सुरु तथा उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने माग दोहोर्याउनुभएको थियो।
मन्त्री पोखरेलले ती मागबारे छलफल गर्न वार्ता टोली गठन गरिने र आवश्यक परे आफू धनगढी नै पुग्ने जानकारी गराउनुभएको सहयोगी डा. जैशीले बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्