जनता टाइम्स

९ श्रावण २०८३, शनिबार १८:५८

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला, प्रहरीले अनुसन्धान थाल्यो


काठमाडौं, साउन  ९  । काठमाडौंको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको कारभित्र एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तारकेश्वर नगरपालिका निवासी ४१ वर्षीया रश्मि रिजाल कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिएकी हुन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

महिलाको मृत्युको कारण खुल्न बाँकी रहेकाले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन तथा आवश्यक अनुसन्धानलाई तीव्रता दिएको छ।