काठमाडौं, साउन २० । स्पेसएक्सको फाल्कन–९ रकेटको दोस्रो चरण बुधबार नेपाली समयअनुसार दिउँसो करिब १:२० बजे चन्द्रमाको सतहमा ठोक्किने अनुमान गरिएको छ। करिब ४ हजार किलोग्राम तौल भएको उक्त रकेटको टुक्रा गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा परिक्रमा गरिरहेको थियो।
जनवरी २०२५ मा फायरफ्लाई एरोस्पेसको चन्द्रयान प्रक्षेपणका लागि प्रयोग गरिएको रकेटको दोस्रो चरण इन्धन सकिएपछि पृथ्वीको वायुमण्डलमा फर्किन नसकी अन्तरिक्षमै रहन पुगेको थियो। वैज्ञानिकहरूका अनुसार यो करिब ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमाको सतहतर्फ अघि बढिरहेको छ।
स्पेसएक्सका अनुसार रकेटको टुक्रा चन्द्रमाको पश्चिमी भागमा रहेको आइन्स्टाइन क्रेटर आसपास ठोक्किन सक्ने सम्भावना छ। टक्करपछि ठूलो परिमाणमा चन्द्रमाको धुलो उड्ने अनुमान गरिए पनि उक्त दृश्य पृथ्वीबाट नांगो आँखाले देख्न कठिन हुने वैज्ञानिकहरूको भनाइ छ।
स्पेसएक्सले यो नियोजित घटना नभएको स्पष्ट पारेको छ। रकेटको इन्धन सकिएकाले त्यसको दिशा परिवर्तन गर्न सम्भव नभएको कम्पनीले जनाएको छ।
वैज्ञानिकहरूका अनुसार सौर गतिविधि र गुरुत्वाकर्षणको संयुक्त प्रभावका कारण रकेटको टुक्रा चन्द्रमातर्फ पुगेको हो। यसबाट तत्काल कुनै खतरा नरहे पनि अन्तरिक्ष फोहोर व्यवस्थापनको चुनौती थप स्पष्ट भएको उनीहरूको भनाइ छ।
चन्द्रमामा मानव निर्मित वस्तु ठोक्किने घटना दुर्लभ मानिन्छ। यसअघि सन् २०२२ मा चिनियाँ रकेटको एउटा चरण र सन् २००९ मा नासाले अनुसन्धानका लागि नियोजित रूपमा रकेटको भाग चन्द्रमामा ठोक्काएको थियो।
नासा र स्पेसएक्सले भविष्यका चन्द्र अभियानलाई सुरक्षित बनाउन अन्तरिक्ष फोहोर व्यवस्थापनका उपायबारे छलफल गरिरहेको जनाइएको छ। आगामी वर्षहरूमा चन्द्रमामा मानवसहितका अभियान बढ्दै जाने योजनाबीच अनियन्त्रित अन्तरिक्ष सामग्रीले भविष्यका उपकरण र अभियानमा जोखिम निम्त्याउन सक्ने चिन्ता वैज्ञानिकहरूले व्यक्त गरेका छन्।














प्रतिक्रिया दिनुहोस्