जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार १८:३७

सरकारको काम गर्ने ढंग सुधार्नुपर्छ : मनिष झा


काठमाडौं, २२ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहेको तर काम गर्ने शैली र ढंग सुधार्न आवश्यक रहेको बताउनुभएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारको नियत र इमानदारीमा शंका नभए पनि कार्यशैलीमा कमजोरी देखिएको भन्दै त्यसलाई स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो।

सांसद झाले आफूलाई थाहा नभएका विषयबारे पहिले जान्न र सिक्न आवश्यक हुने उल्लेख गर्दै राज्य सञ्चालनमा निरन्तर सिकाइ र सुधार आवश्यक रहेको बताउनुभयो।

उहाँले राज्य प्रणाली सञ्चालनको ढंग अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै शिक्षित समाजबिनाको राजनीति, लोकतन्त्र र सामाजिक न्याय दिगो हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।

समाज शिक्षित नभएसम्म राजनीति बलियो नहुने, राजनीति कमजोर भए लोकतन्त्र र सामाजिक सन्तुलनमा असर पर्ने तथा त्यसले अन्ततः सामाजिक न्याय र विकासलाई प्रभावित पार्ने उहाँको भनाइ थियो।