जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार २०:२६

दोलालघाटबाट सुनकोशीमा हाम फालेका दम्पतीमध्ये तिलकुमारीको शव फेला


काठमाडौं, साउन २४ । काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हाम फालेका भनिएका दम्पतीमध्ये वृद्धाको शव फेला परेको छ।

मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार नदी किनारमा फेला परेको शवको हुलिया आफन्तलाई पठाइएको थियो। आफन्तले शव तिलकुमारीकै भएको पहिचान गरेको उहाँले बताउनुभयो।

प्रहरीका अनुसार थप पुष्टिका लागि तिलकुमारीका आफन्त शव भेटिएको स्थानतर्फ गएका छन्।

तिलकुमारीलाई पिठ्युँमा बोकेर दोलालघाटबाट नदीमा हाम फालेको भनिएका उहाँका श्रीमान् ६८ वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ।

पराजुली दम्पती गत बुधबार साँझदेखि दोलालघाटबाट बेपत्ता भएका थिए। उनीहरूको खोजीका लागि प्रहरीले टोली परिचालन गरेको थियो।

ओखलढुंगा प्रहरीले स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी राज महर्जनका अनुसार शवको फोटो काभ्रे प्रहरीलाई पठाइएपछि आफन्तबाट तिलकुमारीको सनाखत भएको हो।

केदारनाथको खोजी भने जारी रहेको प्रहरीले जनाएको छ।