जनता टाइम्स

१९ श्रावण २०८३, मंगलवार ०८:०४

इतिहास बोकेको देवदार ढल्यो, स्थानीय भावुक


काठमाडौं, साउन १९ । जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको करिब चार सय वर्ष पुरानो मानिएको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित बनेका छन्।

स्थानीयका अनुसार पुस्तौंदेखि आस्था, छायाँ र प्राकृतिक सम्पदाको प्रतीकका रूपमा रहेको उक्त देवदार साउन १७ गते ढलेको हो। रुख करिब चार मिटर गोलाइ र ४५ मिटर उचाइ भएको अनुमान गरिएको छ। यसको वास्तविक उमेर भने वैज्ञानिक रूपमा पुष्टि हुन बाँकी रहेको छ।

रुख सडकतर्फ ढल्दा टेलिफोन र विद्युत्का खम्बासहित धानबालीमा सामान्य क्षति पुगेको छ। घटनामा भने कुनै मानवीय क्षति भएको छैन।

स्थानीयवासीका अनुसार विसं २०३२ सालमा रुखको टुप्पो भाँचिएपछि त्यहीँबाट पानी पस्दा जरा कुहिएको र त्यसकै कारण अहिले ढलेको हुनसक्ने अनुमान गरिएको छ।

स्थानीयले उक्त देवदारलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको सम्पदाका रूपमा लिँदै आएका थिए। रुख ढलेपछि सो स्थानमा मन्दिर वा चौतारी निर्माण गरी संरक्षण गर्न सरकारसँग मागसमेत गरेका छन्।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बूढाथोकीले ढलेको रुखको वास्तविक उमेर, प्राकृतिक विशेषता र गुणबारे वैज्ञानिक अध्ययन गरिने बताउनुभएको छ। उहाँका अनुसार देवदार धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको कोणधारी वनको महत्वपूर्ण प्रजाति हो।