ललितपुर, साउन २४। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, तराई–मधेशमा पछिल्लो समय विकसित घटनाक्रम तथा प्रमुख प्रतिपक्षी दलका रूपमा पार्टीको भूमिकालगायतका विषयमा छलफल भएको छ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय तथा बैठकका प्रस्तावित विषयवस्तुबारे जानकारी गराउनुभएको थियो। महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
बैठकमा १५औँ महाधिवेशनको तयारीलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ। महाधिवेशनका लागि आवश्यक नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति गठन, विधान मस्यौदा समिति गठन तथा प्रचारप्रसार, भोजन तथा आवास र मञ्च व्यवस्थापनलगायतका उपसमिति गठनका विषयमा छलफल भएको छ।
त्यसैगरी, केन्द्रीय कार्यसम्पादन समितिबाट भएका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकको एजेन्डामा राखिएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिका निर्णय अनुमोदनसम्बन्धी प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिएको कांग्रेसले जनाएको छ।
बैठकमा पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल भएको छ। साथै, सरकारको १०० दिन, त्यसपछि विकसित राजनीतिक गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद र संसदबाहिर नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल गर्ने प्रस्ताव गरिएको छ।
प्रदेश सरकारका सन्दर्भमा विकसित राजनीतिक परिस्थिति, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूका विधानसम्बन्धी विषय पनि बैठकका एजेन्डामा समेटिएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २५ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।
बैठकमा प्रस्तुत प्रस्तावमाथि थप छलफल गर्दै पार्टीको आगामी राजनीतिक रणनीति तथा १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउने कांग्रेसको तयारी छ।














प्रतिक्रिया दिनुहोस्