काठमाडौं, साउन २१ । मेक्सिकोको सिनालोआ राज्यमा एक चर्चित टिकटक इन्फ्लुएन्सरको लाइभस्ट्रिमकै क्रममा गोली हानी हत्या गरिएको छ।
टिकटकमा करिब ६ लाख फलोअर्स रहेका २५ वर्षीय सेसर गास्टेलम साथीहरूसँग भिडियो बनाइरहेका बेला मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनीमाथि गोली प्रहार गरेका हुन्।
प्राप्त विवरणअनुसार गास्टेलम एक फास्टफुड रेस्टुरेन्टबाहिर दुई साथीसँग लाइभस्ट्रिम गरिरहेका थिए। सामाजिक सञ्जालमा चलिरहेको एक च्यालेन्जका क्रममा उनीहरू डेलिभरी ड्राइभरको पोसाकमा देखिएका थिए।
त्यही क्रममा मोटरसाइकलमा आएका दुई आक्रमणकारीमध्ये पछाडि बसेका व्यक्तिले गास्टेलमको टाउकोमा गोली प्रहार गरेका थिए। घटनापछि लाइभस्ट्रिम तत्काल बन्द भएको थियो।
घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको भए पनि त्यसमा हिंसात्मक दृश्य भएकाले अधिकारीहरूले भिडियो साझा नगर्न आग्रह गरेका छन्।
सिनालोआ राज्यका सुरक्षा अधिकारीहरूले गास्टेलमको मृत्यु भएको पुष्टि गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्