जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार २०:०४

विदेशी राजदूतसँग भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन, पहिलो भेट भारतीय राजदूतसँग


काठमाडौं, साउन २४ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गर्नुहुने भएको छ ।

यसअघि विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै आउनुभएका प्रधानमन्त्री शाहले अब भने विभिन्न देशका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गर्न लाग्नुभएको हो । सोमबारदेखि सुरु हुने भेटवार्ताको पहिलो क्रममा भारतीय राजदूत नविन श्रीवास्तवसँग भेट हुने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेट गरेपछि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि अमेरिका लगायत विभिन्न देशका राजदूतसँग भेटवार्ता गर्ने तयारी छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि विभिन्न देशका राजदूतहरूले बधाइ तथा शुभकामना दिन भेटका लागि समय माग गरे पनि शाहले सुरुवाती चरणमा छुट्टाछुट्टै भेटवार्ताका लागि समय दिनुभएको थिएन । उहाँले चैत २५ गते विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो ।

त्यसपछि पनि कतिपय राजदूतहरूले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै भेटवार्ताका लागि प्रयास गरे पनि समय नपाएको बताइएको छ । विदेशबाट आएका उच्चस्तरीय कूटनीतिज्ञसँग समेत प्रधानमन्त्रीले भेट नगरेको विषय कूटनीतिक वृत्तमा चर्चामा आएको थियो ।

प्रधानमन्त्री शाहले राजदूत तथा विदेशी उच्च अधिकारीसँग नियमित भेटवार्ता नगरेका कारण नेपालको कूटनीतिक सम्बन्धमा समेत असर पर्न सक्ने भन्दै विभिन्न क्षेत्रबाट संवाद बढाउन सुझाव दिइँदै आएको थियो ।

यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुकसहित विभिन्न देशसँगको कूटनीतिक सम्बन्धलाई सक्रिय बनाउन पहल गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री शाहलाई भारत र चीनबाट भ्रमणका लागि निम्तो आएको भए पनि उहाँले हालसम्म विदेश भ्रमणबारे निर्णय लिनुभएको छैन । राजदूतहरूसँगको छुट्टाछुट्टै भेटवार्तापछि प्रधानमन्त्रीको विदेश भ्रमणको वातावरण बन्न सक्ने अपेक्षा गरिएको छ ।