बिराटनगरं, साउन २१ । काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामुक्त बनेका विराटनगरका अभिषेक गिरीलाई प्रहरीले फेरि पक्राउ गरेको छ । बिहीबार काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत विराटनगर आउनु भएका गिरीलाई विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
साँझ ७ बजेर ५ मिनेटमा विमानबाट ओर्लिएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले गिरीलाई पक्राउ गरेको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिनुभयो।
प्रहरीका अनुसार गिरीमाथि आपराधिक लाभसँग सम्बन्धित कसुरमा अनुसन्धान भइरहेको छ।
यसै विषयमा थप अनुसन्धान गर्न अदालतबाट यसअघि नै पक्राउ अनुमति प्राप्त भएकाले नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। यसअघि गिरी ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट साउन १५ मा पाँच लाख रुपैयाँ धरौटीमा रिहा हुने आदेश भएको थियो ।
अर्को मुद्दामा प्रहरीले पक्राउ गर्ने तयारी गरेको थाहा पाएका र उजुरीकर्तासँग मिलापत्रको तयारी भइरहेकाले गिरी डिल्लीबजार कारागार चलान हुनुभएको थियो । बिहीबार उजुरीकर्तासँग मिलापत्र भएपछि थुनामुक्त हुनुभएका गिरी काठमाडौंबाट विराटनगर फर्कँदै गर्दा विमानस्थलबाटै पक्राउ पर्नुभएको हो ।
विराटनगर–८ मधुमाराका ४८ वर्षीय गिरी आपरधिक गतिविधिका कारण चर्चामा रहिरहने पात्रका रुपमा प्रहरीले निगरानी राखेको छ । गिरी कांग्रेस महामन्त्री गुरु घिमिरेका बिश्वाशपात्र समेत हुनुहुन्छ । उहाँ शरीर बन्धक तथा अपहरण मुद्दामा जेला साजय काटेर निस्कनुभएको चर्चित ‘डन’ का रुपमा पनि परिचित हुनुहुन्छ ।
गिरीविरूद्ध निर्माण व्यवसायी सुवास श्रेष्ठले ठेक्का व्यवस्थापन गराइदिने भन्दै प्रभाव प्रयोग गर्ने आश्वासन दिएर ठूलो रकम लिएको आरोपसहित उजुरी दिनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्