जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार १५:३९

रामेछापमा नेकपाको एकता प्रक्रिया टुङ्गियो, जिल्ला र स्थानीय तहको नेतृत्व चयन


रामेछाप, साउन २५। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछाप जिल्ला कमिटीले पार्टी एकता प्रक्रिया टुङ्ग्याउँदै जिल्ला तथा स्थानीय तहको नेतृत्व र जिम्मेवारी बाँडफाँट गरेको छ।

आइतबार आयोजित बृहत्तर एकता कार्यकर्ता भेलामार्फत जिल्ला कमिटीदेखि स्थानीय तहसम्मको संगठनात्मक जिम्मेवारी टुङ्गो लगाइएको हो।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नेकपाका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलाई जिल्ला इन्चार्ज र लालसिंह घिसिङलाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

एकता प्रक्रियाअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा समेत इन्चार्ज र संयोजक चयन गरिएको छ। रामेछाप नगरपालिकामा शिशिर खड्कीलाई इन्चार्ज र मोतीलाल तामाङलाई संयोजक तथा मन्थली नगरपालिकामा उद्धव रम्तेललाई इन्चार्ज र नवीन कार्कीलाई संयोजकको जिम्मेवारी दिइएको छ।

त्यस्तै, उमाकुण्ड गाउँपालिकामा मदन कालिकोटेलाई इन्चार्ज र विकास कार्कीलाई संयोजक, गोकुलगंगा गाउँपालिकामा राजकुमार बस्नेतलाई इन्चार्ज र इन्द्रबहादुर तामाङलाई संयोजक तथा लिखुतामाकोशी गाउँपालिकामा ध्रुव कार्कीलाई इन्चार्ज र शेरबहादुर खड्कालाई संयोजक चयन गरिएको छ।

खाँडादेवी गाउँपालिकामा गंगा बुढाथोकी ‘अग्निमा’लाई इन्चार्ज र रमेशकुमार तामाङलाई संयोजक, दोरम्बा शैलुङ गाउँपालिकामा निरबहादुर श्रेष्ठलाई इन्चार्ज र टिका माल्बुकेलाई संयोजक तथा सुनापति गाउँपालिकामा पेमा लामालाई इन्चार्ज र चण्डेश्वर चौंलागाईंलाई संयोजकको जिम्मेवारी दिइएको छ।

भेलामा स्थानीय तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने तथा आगामी निर्वाचनमा पार्टीको प्रभाव विस्तार गर्ने विषयमा समेत छलफल गरिएको जनाइएको छ।

जिल्ला संयोजक घिसिङले भेलाबाट भएका निर्णय तथा संगठनको अवस्थाबारे कार्यकर्तालाई जानकारी गराउँदै आगामी दिनमा पार्टीभित्रको एकतालाई थप मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

जिल्ला नेतृत्वदेखि स्थानीय तहसम्मको जिम्मेवारी बाँडफाँट पूरा भएसँगै रामेछापमा नेपाली कम्युनिष्ट पार्टीले नयाँ संगठनात्मक संरचनाअनुसार आफ्ना गतिविधि सञ्चालन गर्ने भएको छ।