काठमाडौँ, साउन २५। नेपाल सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेकोप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ले खुसी व्यक्त गर्नुभएको छ।
अध्यक्ष प्रचण्डले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको पहलले कपडा उपभोगमा रहेको नेपालको आयातनिर्भरता कम गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको हो।
उहाँले आफू सरकारको नेतृत्वमा रहँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको स्मरण गराउँदै त्यसकै आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसँगै गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायत सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको स्मरण गर्नु भएकाे छ ।
सघन गृहकार्यसहित अघि बढाइएको उक्त प्रक्रिया आफू सरकारबाट बाहिरिएपछि रोकिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले पुनः प्रक्रिया अघि बढ्नु सुखद पक्ष भएको बताउनुभएको छ।
हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालनमा ल्याउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा नेपालले महत्वपूर्ण फड्को मार्न सक्ने उहाँको धारणा छ।
देशमा उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने दिशामा सार्वजनिक उद्योगको पुनरुत्थान महत्वपूर्ण कदम हुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारलाई उद्योग पुनः सञ्चालनको प्रक्रियालाई परिणाममुखी ढंगले अघि बढाउन आग्रह गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्