रामेछाप, साउन २६। रामेछापका उमाकुण्ड गाउँपालिका सामुदायिक विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था र प्रगतिबारे अभिभावकलाई नियमित जानकारी गराउनुका साथै प्राप्त सुझाव र गुनासाको व्यवस्थित अभिलेख राख्ने भएका छन् ।
गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले गाउँपालिका अन्तर्गतका विद्यालयमा नियमित उपस्थित नहुने, गृहकार्य तथा परियोजना कार्य नगर्ने र अनुशासनसम्बन्धी समस्या भएका विद्यार्थीका विषयमा अभिभावकसँग निरन्तर सम्पर्क गर्न निर्देशन दिएकाे छ । शाखाले विद्यालयहरूलाई “विद्यार्थीको प्रगति प्रतिवेदन लगायतका विषयमा अभिभावकलाई नियमित तथा निरन्तर रूपमा जानकारी गराई सोको व्यवस्थित अभिलेख राख्ने व्यवस्था मिलाउन” अनुरोध गरेको छ।
त्यस्तै, अभिभावकबाट विद्यालयको पठनपाठन, व्यवस्थापन तथा अन्य शैक्षिक विषयमा प्राप्त हुने सल्लाह, सुझाव तथा गुनासालाई छुट्टै अभिलेखमा राख्न पनि निर्देशन दिइएको छ। प्राप्त गुनासालाई यथाशीघ्र सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै शाखाले “उक्त कार्यको गाउँपालिकाबाट समय समयमा अनुगमन तथा निरीक्षणसमेत हुने” जनाएको छ।
विद्यालय सञ्चालनका क्रममा आइपर्ने समस्या तथा गुनासालाई क्यूआरटी (QRT) मा छलफल गर्नसमेत शाखाले आग्रह गरेको छ। आवश्यकताअनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकाको सम्बन्धित शाखालाई तत्काल जानकारी गराई समस्या समाधानका लागि समन्वय र सहकार्य गर्न निर्देशन दिइएको छ।
शाखाले विद्यालय–अभिभावकबीचको प्रभावकारी सञ्चारले विद्यार्थीको सिकाइ उपलब्धि, अनुशासन तथा समग्र शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ। “विद्यालय–अभिभावकबीच प्रभावकारी सञ्चार कायम गरी विद्यार्थीको सिकाइ उपलब्धि, अनुशासन तथा समग्र शैक्षिक सुधारमा सहयोग पुग्ने गरी उपर्युक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुहुन अनुरोध छ,” शाखाले विद्यालयहरुलाई दिएकाे निर्देशनमा उल्लेख छ ।
गुणस्तरीय शिक्षाका लागि विद्यालय, अभिभावक र स्थानीय तहबीच निरन्तर समन्वय आवश्यक रहेको जनाउँदै शाखाले विद्यालयहरूबाट सक्रिय सहयोगको अपेक्षा गरेको छ।














प्रतिक्रिया दिनुहोस्