जनता टाइम्स

१ कार्तिक २०८३, शनिबार ०७:०७

एमबीबीएसमा ११० सहित चिकित्सा शिक्षामा ४१८ सिट थप


काठमाडौं, असोज ३१ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षातर्फ ४१८ सिट थप गरेको छ। यससँगै कुल सिट संख्या ९ हजार ६९९ पुगेको छ।

चिकित्सा शिक्षा आयोगको बैठकले आवश्यक अध्ययन तथा अनुगमनका आधारमा सिट थप गर्ने निर्णय गरेको हो। सिट निर्धारणका लागि शिक्षण संस्थाबाट स्वमूल्यांकन फाराम भराएर माग संकलन गरिएको थियो। तीमध्ये ९० शिक्षण संस्थामा विज्ञ टोलीले अनुगमन गरेको थियो।

अनुगमन प्रतिवेदनका आधारमा ८४ संस्थाका लागि सिट निर्धारण गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।

यस वर्ष एमबीबीएसतर्फ मात्रै ११० सिट थपिएका छन्। गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५० सिट पाएको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३०–३० सिट थप पाएका छन्।

त्यसैगरी बीएससी नर्सिङमा २१० र बीएमएसमा ९८ सिट थप गरिएको छ।

एमबीबीएसतर्फ थपिएका सबै सिट सरकारी शिक्षण संस्थाका हुन्। निजी मेडिकल कलेजको सिट संख्या भने यस शैक्षिक सत्रमा यथावत् राखिएको छ।