जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार २१:५४

स्वास्थ्य क्षेत्र वाग्मती सरकारको उच्च प्राथमिकतामा : सांसद श्रेष्ठ


रामेछाप, साउन २७ । वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले स्वास्थ्य क्षेत्र वाग्मती प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापमा बुधबार आयोजित नियमित मेडिकल शिक्षा (सीएमई) कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले मानिसलाई निरोगी बनाउनु पहिलो प्राथमिकताको विषय भएको बताउनुभयो। उहाँले खानपान, व्यवहार तथा विभिन्न कारणले मानिसमा रोग लाग्ने भएकाले त्यसको उचित उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

यही विषयलाई प्राथमिकतामा राखेर वाग्मती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आएको उहाँले स्मरण गराउनुभयो। अहिले प्रदेश सरकार परिवर्तनको प्रक्रियामा रहेकाले विकास निर्माण तथा सेवा प्रवाहमा केही शिथिलता देखिएको भए पनि नयाँ सरकार गठन भएपछि पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा थप गति आउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण काम गरेको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको सभापति श्रेष्ठले बताउनुभयो। पर्याप्त स्रोत–साधनको अभावमा अपेक्षाअनुसार काम गर्न कठिनाइ भइरहेको उहाँको भनाइ थियो।

पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उहाँले सीमित स्रोत–साधनका बीच आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले प्रशंसनीय काम गरिरहेको बताउनुभयो। चिकित्सालयले पुर्‍याएको सेवाका लागि उहाँले सञ्चालक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई धन्यवादसमेत दिनुभयो।

सभापति श्रेष्ठका अनुसार चालु आर्थिक वर्षदेखि चिकित्सालयमा इनडोर सेवा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन भइसकेको छ। अब बिरामीले चिकित्सालयमै भर्ना भएर उपचार सेवा लिन सक्ने उहाँले बताउनुभयो। चिकित्सालयको सेवा विस्तारका लागि आफ्नो तर्फबाट प्रदेश सरकारसँग थप पहल गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।

चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले गत आर्थिक वर्षमा सम्पादन गरिएका प्रमुख काम तथा चालु आर्थिक वर्षका बजेट, कार्यक्रम र अतिरिक्त क्रियाकलापबारे जानकारी गराउनुभयो।

उहाँका अनुसार प्रदेश सरकारबाट निर्देशित कार्यक्रमबाहेक चालु आर्थिक वर्षमा कम्तीमा १२ वटा स्वास्थ्य शिविर तथा ४८ वटा घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

कार्यक्रममा समितिका अध्यक्ष पथिकले चिकित्सालयले हासिल गरेको उपलब्धि सबैको साझा प्रयासको परिणाम भएको बताउनुभयो। चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रम केही थप भएर आएकाले आगामी दिनमा अझ प्रभावकारी र उपलब्धिमूलक काम गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा चिकित्सालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको सहभागिता रहेको थियो।