काठमाडौं, साउन ३० । देशभर मनसुन वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ।
हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र लुम्बिनीका केही स्थान, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसोको मौसम
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
राति पनि हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
बाढी र पहिरोको जोखिम
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना र पूर्वानुमान हेरेर यात्रा तथा अन्य गतिविधि गर्न महाशाखाले अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्