जनता टाइम्स

३० श्रावण २०८३, शनिबार १५:५१

इलाम पुगेका ओलीले गरे जनजाति महासंघको बैठक उद्घाटन


इलाम, साउन ३० । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गएकाे निर्वाचनमा पराजयपछि पहिलोपटक गृह जिल्ला झापा हुँदै इलाम पुग्नुभएको छ। गृह जिल्लाको  झापाकाे भ्रमणमा जानु भएका उहाँ शनिबार इलामको फिक्कल पुग्नुभएको हो।

अध्यक्ष ओलीले फिक्कलमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक उद्घाटन गर्नुभएको छ। उहाँले दीप प्रज्वलन गरी बैठकको औपचारिक उद्घाटन गर्नुभएको हो।

गत फागुनमा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेपछि अध्यक्ष ओलीको गृह जिल्ला झापा हुँदै इलाम भ्रमणलाई राजनीतिक रूपमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ। निर्वाचनपछि पार्टी संगठन, कार्यकर्ता तथा समसामयिक राजनीतिक विषयमा उहाँको सक्रियता बढ्दै गएको अवस्थामा यो भ्रमण भएको हो।

फिक्कलमा सुरु भएको महासंघको बैठकमा संगठनको आगामी कार्यदिशा, आदिवासी जनजाति समुदायसँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

अध्यक्ष ओली शनिबार र आइतबार इलाममै रहनुहुने बताइएको छ। उहाँको इलाम बसाइका क्रममा स्थानीय नेता, कार्यकर्ता तथा पार्टीसँग सम्बन्धित विभिन्न व्यक्तिसँग भेटघाट तथा छलफल हुने छ।

निर्वाचनपछिको राजनीतिक परिस्थितिबीच गृह जिल्ला हुँदै पूर्वी नेपालका जिल्लाको भ्रमणमा निस्कनुभएका अध्यक्ष ओलीको इलाम आगमनलाई एमालेका स्थानीय नेता–कार्यकर्ताले समेत महत्वका साथ लिएका छन्।