काठमाडौं, साउन ३०। भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नयाँ भिजनका रूपमा ‘शक्तिको सप्तधारा’ घोषणा गरेका छन्। उनले ‘विकसित भारत’ र ‘आत्मनिर्भर भारत’को लक्ष्य हासिल गर्न सात प्रमुख शक्तिलाई अघि सारेका हुन्।
स्वतन्त्रता दिवसका अवसरमा मोदीले लगातार १३औँपटक लालकिल्लाबाट राष्ट्रिय झन्डा फहराए। करिब सवा घण्टा लामो सम्बोधनमा उनले सरकारका उपलब्धि, आगामी नीति तथा भारतको आर्थिक र रणनीतिक लक्ष्यबारे धारणा राखेका थिए।
मोदीले रक्षा सामग्री उत्पादन, विद्युत् उत्पादन, सेमिकन्डक्टर उद्योग तथा परमाणु ऊर्जाको विकासमा जोड दिए। विश्वव्यापी मल अभावका बाबजुद भारतीय किसानलाई सस्तोमा मल उपलब्ध गराइएको विषय पनि उनले सम्बोधनमा उल्लेख गरे।
के हो ‘सप्तधारा’?
मोदीले भारतको आगामी विकास यात्राका लागि सात क्षेत्रलाई ‘शक्तिको सप्तधारा’का रूपमा प्रस्तुत गरेका हुन्। उनका अनुसार यी सात शक्तिले आगामी पाँचदेखि सात वर्षमा भारतलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछन्।
सप्तधारामा उत्पादन, कृषि तथा खाद्यान्न, प्रविधि तथा नवप्रवर्तन, गतिशक्ति, रक्षा शक्ति, हरित तथा निलो अर्थतन्त्र र सफ्ट पावर समेटिएका छन्।
१. उत्पादन शक्ति
मोदीले उत्पादन क्षमतालाई सप्तधाराको पहिलो शक्ति बताएका छन्। डिजाइनदेखि उत्पादनसम्म भारतलाई विश्वव्यापी आपूर्ति शृंखलाको भरपर्दो केन्द्र बनाउने लक्ष्य उनले अघि सारे।
२. कृषि तथा खाद्यान्न
कृषि तथा खाद्यान्न उत्पादनलाई दोस्रो शक्ति बनाइएको छ। स्वतन्त्र व्यापार सम्झौताबाट प्राप्त ठूलो बजारको लाभ लिन कृषि उत्पादन बढाउनुपर्नेमा मोदीले जोड दिए।
३. प्रविधि तथा नवप्रवर्तन
कृत्रिम बुद्धिमत्ता (एआई), अन्तरिक्ष तथा डेटा सेन्टरलाई प्रविधि र नवप्रवर्तनअन्तर्गत प्राथमिकतामा राखिएको छ। यी क्षेत्रमा भारतलाई विश्वकै अग्रणी शक्तिका रूपमा विकास गर्ने लक्ष्य मोदीले सुनाए।
४. गतिशक्ति
‘गतिशक्ति’अन्तर्गत द्रुत गतिको रेलमार्फत सहर जोड्ने, आधुनिक राजमार्ग निर्माण गर्ने तथा बन्दरगाह विस्तार गर्ने योजना अघि सारिएको छ।
५. रक्षा शक्ति
रक्षा सामग्री उत्पादनमा आत्मनिर्भर बन्ने र भारतको रक्षा क्षमतालाई थप बलियो बनाउने लक्ष्यलाई सप्तधाराको पाँचौँ शक्तिका रूपमा राखिएको छ।
६. हरित र निलो अर्थतन्त्र
हरित हाइड्रोजन, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, हरित यातायात तथा हरित उत्पादनलाई प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। त्यस्तै, माछापालन र तटीय पर्यटनलाई समेत प्राथमिकता दिने मोदीले बताए।
७. सफ्ट पावर
हस्तकला, संस्कृति, चलचित्र, सिर्जनात्मक उद्योग, भीएफएक्स, एनिमेसन, गेमिङ तथा डिजिटल सामग्रीमार्फत भारतको विश्वव्यापी प्रभाव विस्तार गर्ने लक्ष्य राखिएको छ।
मोदीले सम्बोधनका क्रममा ‘नक्सलमुक्त भारत’ निर्माणमा भएको प्रगति र सन् २०३६ को ओलम्पिक आयोजना गर्न भारतले गरेको दाबीबारे पनि उल्लेख गरेका छन्। साथै, भारतलाई रक्षा, ऊर्जा, प्रविधि र उत्पादनका क्षेत्रमा थप आत्मनिर्भर बनाउने योजनालाई प्राथमिकतामा राखेका छन्।













प्रतिक्रिया दिनुहोस्