सर्लाही, साउन २५ । सर्लाहीमा ‘नाम नखुलेको किरा’ले टोकेको भनिएका एक युवकको मृत्यु भएको छ।
बरहथवा नगरपालिका–९, मुर्तिया निवासी ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा दाहिने खुट्टामा नाम नखुलेको किराले टोकेको थियो।
टोकाइपछि गम्भीर बिरामी परेका महतोलाई आफन्तले उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगेका थिए। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार महतोलाई टोकेको किराको पहिचान हुन सकेको छैन। विषालु सर्पले टोकेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी बेदप्रसाद गौतमका अनुसार पीडित परिवारले टोक्ने जनावर नदेखेका कारण ‘किराले टोकेको’ भनेका हुन सक्छन्।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक कृष्ण आचार्यको नेतृत्वमा टोली खटिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्