सिरहा, साउन २५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा बोलबम श्रद्धालु सवार ट्र्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आइतबार राति कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरबाट बन्दीपुरतर्फ आउँदै गरेको ज १ त ४८०८ नम्बरको ट्र्याक्टर स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डल, १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गङ्गिया मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास, १८ वर्षीय गोपाल यादवसहित १५ जना घाइते भएका छन्।
घाइतेमध्ये अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उद्धार गरी उपचारका लागि फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा लगिएको छ।
दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्