काठमाडौँ, साउन २५ । साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा जम्मा भएका छन्। भक्तजनले सुन्दरीजलस्थित वाग्मती नदीमा स्नान गरी शुद्ध कपडा लगाएर जल बोकी पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा छ।
बोलबम यात्राका लागि भक्तजन आइतबार रातिदेखि नै सुन्दरीजल पुग्न थालेका थिए। त्यहाँ स्नान तथा नित्यकर्मपछि भक्तजनले वाग्मतीको जल लिएर खाली खुट्टा पशुपतिनाथसम्म यात्रा गर्ने गरेका छन्।
बोलबम काँवरिया सङ्घ र सनातन युवा मञ्च नेपाललगायत संस्थाको आयोजनामा भएको यात्रामा करिब १० हजारभन्दा बढी भक्तजन सहभागी भएको प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाले जानकारी दिनुभयो।
भक्तजनले राति अबेरसम्म भजनकीर्तन गरेका थिए। त्यसपछि बिहान स्नान गरी जल बोकेर सुन्दरीजलदेखि पशुपतिनाथसम्म पैदल यात्रा गरेका छन्।
पशुपतिनाथ मन्दिरमा बोलबम यात्रीका लागि उत्तरतर्फको ढोका हुँदै जल चढाउने व्यवस्था गरिएको छ। भक्तजनले बासुकी हुँदै उत्तरढोकाबाट पशुपतिनाथमा जल चढाउने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो।
साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शन गर्ने भक्तजनको चापलाई ध्यानमा राख्दै मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ। भक्तजनलाई सहज रूपमा दर्शन गराउन आवश्यक व्यवस्थासमेत मिलाइएको छ।














प्रतिक्रिया दिनुहोस्