काठमाडौं, साउन २५ । श्रावणको चौथो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सहजताका लागि बिहानैदेखि चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनको व्यवस्थापनका लागि मन्दिर प्रवेशमा चारवटा लामको व्यवस्था गरिएको छ भने बोलबम यात्रीका लागि पनि विशेष व्यवस्था मिलाइएको छ।
श्रावण महिनाको सोमबार भगवान् शिवको पूजा–आराधना गर्ने परम्पराअनुसार बिहानैदेखि पशुपतिनाथमा भक्तजनको भीड लागेको हो। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रमा रहेको मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि दर्शनार्थीको लाम लागेको छ।
श्रावणको सोमबार शिवालयमा पुगेर पूजा, आराधना तथा जल अर्पण गर्ने धार्मिक परम्परा रहेको छ। सोमबारका कारण राजधानीका प्रमुख शिवालय तथा आसपासका क्षेत्रमा भक्तजनको चहलपहल बढेको छ।














प्रतिक्रिया दिनुहोस्