जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार ०८:३६

इरानसँगको युद्धपछि अमेरिकी हतियार भण्डार घट्यो, उत्पादन बढाउन पेन्टागनको दबाब


काठमाडौँ, साउन २५ । इरानसँगको युद्धका क्रममा अमेरिकी हतियार भण्डार घट्दै गएपछि पेन्टागनले रक्षा उद्योगलाई हतियार उत्पादन तीव्र पार्न आग्रह गरेको छ।

पेन्टागनका प्रवक्ता सिन पार्नेलले अमेरिकी सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन गोलाबारुद खरिद बढाउने र खरिद प्रक्रिया छिटो बनाउने काम भइरहेको बताएका छन्। उनका अनुसार हतियार उत्पादन बढाउने योजना हालैको युद्धपछि मात्रै सुरु भएको नभई यसअघि नै अघि बढाइएको सैन्य आधुनिकीकरण अभियानकै हिस्सा हो।

‘द वासिङ्टन पोस्ट’ले प्राप्त गरेको एक मेमोअनुसार उपरक्षामन्त्री स्टिभ फेनबर्गले रक्षा उद्योगका प्रमुखहरूलाई महत्वपूर्ण सैन्य क्षमताका हतियारको उत्पादन तीव्र पार्ने योजना २१ दिनभित्र पेस गर्न निर्देशन दिएका छन्। उनले वर्षौं लामो विकास चक्र स्वीकार्य नहुने भन्दै उत्पादन क्षमता तत्काल विस्तार गर्नुपर्ने बताएका छन्।

इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले पहिले नै घटिरहेको उन्नत क्षेप्यास्त्र इन्टरसेप्टरको मौज्दात थप प्रयोग गरेपछि पेन्टागनले उत्पादन बढाउन दबाब दिएको हो। विज्ञहरूले आक्रामक तथा रक्षात्मक दुवै प्रकारका हतियारको अभावले अमेरिकी सेनासँगै मध्यपूर्वमा रहेका उसका सहयोगीको सुरक्षामा जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्।

वासिङ्टनस्थित ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’का अनुसार पेट्रियट र थाड इन्टरसेप्टरको मौज्दात घटेकाले अमेरिका र उसका सहयोगीले वायु रक्षा प्रणाली प्रयोगमा थप सावधानी अपनाउनुपर्ने अवस्था आउन सक्छ। इन्टरसेप्टरको प्रयोग घटाउँदा इरानी ड्रोन तथा क्षेप्यास्त्र लक्ष्यमा पुग्ने जोखिम बढ्न सक्ने विज्ञहरूको भनाइ छ।

ट्रम्पको दाबी– अमेरिकासँग पर्याप्त गोलाबारुद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकी हतियार भण्डारमा कमी आएको भन्ने समाचारप्रति असन्तुष्टि जनाएका छन्। उनले अमेरिकासँग विशेषगरी केही प्रकारका गोलाबारुदको ठूलो भण्डार रहेको र आवश्यकताअनुसार हतियार उत्पादन तथा आपूर्ति भइरहेको दाबी गरेका छन्।

ट्रम्पले अमेरिकी रक्षा ठेकेदारहरूले ठूलो संख्यामा नयाँ कारखाना तथा उत्पादन केन्द्र निर्माण गरिरहेको समेत बताएका छन्।

तर पेन्टागनका प्रवक्ता पार्नेलले फेनबर्गको हतियार उत्पादनसम्बन्धी मेमो वास्तविक भएको पुष्टि गरेका छन्। उनका अनुसार मेमोले आर्थिक वर्ष २०२८ को बजेट निर्माणका लागि आवश्यक जानकारी उपलब्ध गराउनेछ।

पेट्रियट र थाडको मौज्दातमा ठूलो गिरावट

‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’को अनुमानअनुसार युद्धअघि अमेरिकासँग करिब २ हजार ३३० वटा पेट्रियट इन्टरसेप्टर थिए। अप्रिलमा युद्धविराम लागू हुँदासम्म यसको संख्या १ हजार ३० मा झरेको थियो।

हालैको युद्धपछि पेट्रियट इन्टरसेप्टरको मौज्दात ७५९ देखि ८२७ बीचमा रहेको अनुमान गरिएको छ। यो युद्धअघि रहेको मौज्दातभन्दा कम्तीमा ६५ प्रतिशत कम हो।

त्यस्तै, थाड इन्टरसेप्टरको संख्या युद्धअघि ४५२ रहेकोमा युद्धविराम सुरु हुँदासम्म २३२ देखि २६२ बीचमा झरेको थियो। केही मौज्दात पुनः भरेपछि यसको संख्या २३४ देखि २७८ बीच पुगे पनि युद्धअघि भन्दा अझै कम्तीमा ३८ प्रतिशत कम रहेको बताइएको छ।

लकहिड मार्टिन र नर्थरोप ग्रुम्मानसँग सम्झौता

अमेरिकी रक्षा मन्त्रालयले यसै महिनाको सुरुवातमा मिसाइल प्रतिरक्षा प्रणालीमा प्रयोग हुने पार्टपुर्जाको उत्पादन क्षमता बढाउन रक्षा कम्पनीहरू Lockheed Martin र Northrop Grummanसँग नयाँ सम्झौता गरेको थियो।

तर विज्ञहरूले अमेरिकी हतियार भण्डारलाई युद्धपूर्व अवस्थामा फर्काउन अझै लामो समय लाग्ने बताएका छन्। सेवानिवृत्त अमेरिकी मरिन कर्प्स कर्नेल मार्क क्यान्सियनका अनुसार इन्टरसेप्टरको मौज्दात सीमित रहेकाले पेट्रियट प्रणालीका क्षेप्यास्त्र सकिँदै गएमा इरानी क्षेप्यास्त्रले अमेरिकी वा सहयोगी पक्षका लक्ष्यमा प्रत्यक्ष प्रहार गर्ने जोखिम बढ्न सक्छ।