जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार ०८:२८

देशभर मनसुन सक्रिय, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना


काठमाडौँ, साउन २५ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज विभिन्न प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल कोशी र लुम्बिनी प्रदेशका अधिकांश भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ।

मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिमका पहाडी भाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।