जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार ०८:२५

आज प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने


काठमाडौँ, साउन २५ सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।

त्यस्तै, प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

चार संसदीय समितिको बैठक पनि बस्दै

प्रतिनिधिसभाको बैठकसँगै आज विभिन्न चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ।

बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।

बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, बिहान ११ः३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका विषयमा छलफल हुनेछ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको बैठक सञ्चालन कार्यविधिका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ।