जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार १६:२६

टीकाथलीबाट युवक अपहरणको आशंका, ‘प्रहरी हौँ’ भन्दै लगेको २० घण्टासम्म अत्तोपत्तो छैन


फोटो एआई निमार्ण

काठमाडौं, साउन २४ । काठमाडौंको कोटेश्वरबाट टीकाथलीस्थित डेरातर्फ जाँदै गरेका एक युवकलाई आफूहरू प्रहरी भएको बताउने समूहले स्कर्पियोमा राखेर लगेपछि परिवार चिन्तित बनेको छ।

पुष्पेश भाटलाई शनिबार दिउँसो करिब साढे ३ बजे कोटेश्वरको नरेफाँटदेखि बोजेपोखरी जाने सडकबाट अज्ञात समूहले नियन्त्रणमा लिएर लगेको बताइएको छ। घटनाको २० घण्टा बितिसक्दा पनि उनको अवस्था सार्वजनिक भएको छैन।

भाट याङ्गोमार्फत मोटरसाइकल बुक गरेर जिलाप तामाङको मोटरसाइकलमा टीकाथलीस्थित डेरातर्फ जाँदै थिए। सोही क्रममा चारवटा स्कुटर र एउटा स्कर्पियोमा आएका व्यक्तिहरूले मोटरसाइकल रोकेर आफूहरू प्रहरी भएको परिचय दिँदै भाटलाई मोटरसाइकलबाट झारेर स्कर्पियोमा राखी लगेका थिए।

मोटरसाइकल चालक तामाङका अनुसार ती व्यक्तिहरूले आफूलाई प्रहरी भएको बताएका थिए। उनीहरूले भाटलाई लगेपछि एक महिलाले यात्राको रकमसमेत तिरेकी थिइन्।

घटनाको करिब आधा घण्टापछि भाटका भाइ शुभमले मोटरसाइकल चालक तामाङलाई फोन गरेपछि मात्रै घटना बाहिर आएको हो। भाटले याङ्गोमार्फत यात्रा बुक गरेको मोबाइल उनका भाइ शुभमकै रहेको बताइएको छ।

भाट सम्पर्कविहीन भएपछि परिवारले टीकाथली प्रहरी चौकी, सातदोबाटो प्रहरी वृत्त र बानेश्वर प्रहरी वृत्तमा जानकारी गराएका छन्। तर अहिलेसम्म उनको अवस्थाबारे ठोस जानकारी प्राप्त हुन सकेको छैन।

घटनाबारे विभिन्न प्रहरी कार्यालयमा बुझ्दा आफूहरूलाई यस विषयमा जानकारी नभएको प्रतिक्रिया आएको परिवारले जनाएको छ।

पुष्पेश पाटन बहुमुखी क्याम्पसमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत रहेको उनका दाइ विविध भाटले बताएका छन्। उनी परीक्षा दिन साउन १५ गते कञ्चनपुरबाट काठमाडौं आएको परिवारले जनाएको छ।

भाट सम्पर्कविहीन भएको २० घण्टा बितिसक्दा पनि कुनै जानकारी नआएपछि परिवारले प्रहरी प्रशासनसँग घटनाको तत्काल अनुसन्धान गरी उनको अवस्था सार्वजनिक गर्न माग गरेको छ।