जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १७:४८

सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री लम्साल बिरामी


धनगढी, ३१ साउन । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल बिरामी पर्नुभएको छ । शनिबार दार्चुला पुगेर बैतडीको गोठालापानी पुग्नुभएका मन्त्री लम्साललाई भाइरल ज्वरो तथा रुघाखोकीको समस्या देखिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि लम्साल गोठालापानीमै आराम गरिरहनुभएको छ । जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले आइतबार बिहान उहाँको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

डा. उपाध्यायका अनुसार मन्त्री लम्साललाई सामान्य भाइरल ज्वरो तथा रुघाखोकीको समस्या देखिएको छ । उहाँलाई केही समय आराम गर्न सुझाव दिइएको छ ।

डा. उपाध्यायले दौडधुप, मौसम परिवर्तन तथा अनिद्राका कारण समेत स्वास्थ्यमा समस्या देखिएको हुनसक्ने बताउनुभयो ।

मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि उहाँका केही कार्यक्रम प्रभावित भएका छन् । उहाँ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखहरूको बैठकमा सहभागी भएर बझाङ जाने कार्यक्रम थियो ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहितका कर्मचारी पनि मन्त्रीको भ्रमण टोलीमा सहभागी छन् ।

शुक्रबार विमानमार्फत धनगढी पुग्नुभएका मन्त्री लम्सालले डोटीको बीपीनगर पुगेर धनगढी–दिपायल द्रुतमार्गको अवलोकन गर्नुभएको थियो । त्यसपछि आफैँ गाडी चलाएर दार्चुला पुग्नुभएका उहाँले महाकाली करिडोर तथा जिल्ला अस्पतालको भौतिक संरचनाको अनुगमन गर्नुभएको थियो ।

शनिबार अबेर साँझ आफैँ गाडी चलाएर बैतडी सदरमुकाम पुग्नुभएका लम्साल गोठालापानीस्थित हेरिटेज होटलमा बस्नुभएको छ । उहाँ हाल होटलमै आराम गरिरहनुभएको जनाइएको छ ।