जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १८:००

बीपी, गणेशमानहरूलाई कसैको घरभित्र कैद गर्न दिनुहुँदैन : थापा


काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहजस्ता ऐतिहासिक नेताहरूलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र कैद गर्न नहुने बताउनुभएको छ ।

आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले राजनीतिक स्वार्थअनुसार बीपी कोइरालाका विचारको व्याख्या गर्ने र आवश्यक पर्दा मात्र उहाँको नाम प्रयोग गर्ने प्रवृत्तिको आलोचना गर्नुभएको हो ।

उहाँले नेताहरूले आफ्ना राजनीतिक निर्णय आफैँ लिन नसकेर बीपीको नामको सहारा लिने गरेको टिप्पणी गर्नुभयो । राष्ट्रिय मेलमिलापको प्रसंगलाई समेत राजनीतिक स्वार्थअनुसार प्रयोग गर्ने गरिएको उहाँको भनाइ छ ।

थापाले भन्नुभयो, ‘पछिल्लो समय आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने परम्परा बसेको छ ।’

बीपी र गणेशमानलाई निजीकरण गर्न नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘धेरै प्राइभेटाइज गर्न दिनुहुन्न, बीपी कोइराला वा गणेशमानलाई कसैले यो घरभित्र कैद गर्न दिनुहुन्न ।’

थापाले पछिल्लो समय बीपीका विचारको अपव्याख्या भइरहेको भन्दै नयाँ पुस्तालाई उहाँका वास्तविक विचार र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले बीपीको आह्वानमा आन्दोलनमा सहभागी पुरानो पुस्ताका अभियन्ताहरूले आफ्ना प्रत्यक्ष अनुभव नयाँ पुस्तासँग साझा गर्नुपर्ने बताउनुभयो । नयाँ पुस्ताले बीपीका विचारबारे प्रत्यक्ष अनुभव नभएकाले कसैले ‘बीपीले यसो भन्नुभएको थियो’ भन्दैमा पत्याउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

बीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै थापाले लोकतन्त्र र सामाजिक न्यायप्रतिको उहाँको मूल प्रतिबद्धता भने निरन्तर रहेको बताउनुभयो ।

उहाँले बीपीका आर्थिक विकास, उत्पादन, ग्रामीण विकास, साना उद्योग तथा प्रविधिको प्रयोगसम्बन्धी धारणालाई वर्तमान विकास बहस र कृत्रिम बुद्धिमत्ताको सन्दर्भसँग जोडेर अध्ययन गर्न सकिने धारणा पनि राख्नुभयो ।