काठमाडौं, साउन ३१ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट टाढिएको बताउनुभएको छ।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै महासचिव पोखरेलले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेले पार्टी सदस्य र उनीहरूको निकट जनमतबाहेक अन्य समुदायको पर्याप्त मत पाउन नसकेको स्वीकार गर्नुभयो।
वामपन्थी शक्तिहरू पूर्वाधार विकासमा बढी केन्द्रित हुँदा सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अपेक्षाअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो।
“पार्टी सदस्य र त्यसको पेरिफेरीको सम्बन्ध नै कम्युनिस्ट जनमत होला जस्तो भयो। पार्टी सदस्य र उसको निकटको जनमतबाहेक अन्य जनमत हामीले हासिल गर्न सकेनौँ,” उहाँले भन्नुभयो, “त्यसअर्थ अहिले हामी आधारभूत वर्ग र समुदायबाट पनि टुटेको अवस्थामा छौँ।”
आधारभूत वर्गबाट टाढिनुको कारण खोतल्दै महासचिव पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूति गराउने विषयमा वामपन्थी शक्तिहरू चुकेको बताउनुभयो।
नेपालको ठूलो श्रमशक्ति कृषिमा निर्भर रहे पनि कृषिमा संलग्न परिवारका शिक्षित युवाहरू कृषि पेसामा फर्कन नचाहँदा शैक्षिक बेरोजगारी बढेको उहाँको भनाइ थियो।
“कृषिलाई पेसा मान्ने समुदायभित्रको लेखपढ गरेको पुस्ताले कृषिमा फर्कन मानेन। त्यो पुस्ता शैक्षिक बेरोजगारका रूपमा समाजमा उपस्थित भयो,” उहाँले भन्नुभयो, “आफू शैक्षिक बेरोजगार बस्दाको असन्तुष्टि र विद्रोह अन्ततः वैदेशिक पलायन र राज्यविरुद्धको घृणामा बदलियो।”
मुलुकको वर्तमान संकटको प्रमुख कारण शिक्षित पुस्तामा बढेको बेरोजगारी र त्यसबाट उत्पन्न असन्तुष्टि पनि रहेको पोखरेलले दाबी गर्नुभयो।
वर्तमान परिस्थितिमा पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै उहाँले वामपन्थी कार्यकर्तामा उत्पन्न निराशालाई उत्साह र गतिशीलतामा बदल्नुपर्नेमा जोड दिनुभयो। आगामी दिनमा वामपन्थी आन्दोलनलाई अघि बढाउन जनतासँगको सम्बन्ध थप बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्