काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको बहस चलाउनेहरूप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको बताउनुभएको छ।
झापा एमालेले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेर वा हस्ताक्षर अभियान चलाएर नेतृत्व परिवर्तन गर्न खोज्ने प्रवृत्तिको आलोचना गर्नुभयो।
“सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,” उहाँले भन्नुभयो।
एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको उहाँको भनाइ थियो। नेतृत्व परिवर्तनलाई मात्रै पार्टी पुनर्गठन भन्न नमिल्ने उहाँले स्पष्ट पार्नुभयो।
“आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौँ,” उहाँले भन्नुभयो, “कुनै जनसंगठन वा कमिटीको पुनर्गठन हुन सक्छ। अधिवेशनहरू भइरहन्छन्, तर त्यसलाई सिंगै पार्टीको पुनर्गठन भन्न मिल्दैन।”
पार्टीको नीति, गन्तव्य र कार्यक्रम परिवर्तन गर्ने विषयलाई मात्रै वास्तविक पुनर्गठनका रूपमा बुझ्नुपर्ने उहाँले बताउनुभयो।
आफ्नो नेतृत्वमाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिँदै अध्यक्ष ओलीले विगतमा पनि आफूविरुद्ध पार्टीभित्र विभिन्न गतिविधि भएको स्मरण गर्नुभयो। उहाँले २०२९ देखि २०३२ सालसम्म आफूलाई पार्टी सदस्यविहीन बनाइएको र २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालले पार्टीबाट निष्कासन गरेको प्रसंग उल्लेख गर्नुभयो।
आफूले हरेकपटक पार्टीलाई जोगाउँदै आएको दाबी गर्दै उहाँले पछिल्लो निर्वाचनमा एमालेका पार्टी सदस्यभन्दा कम मत आएको विषयमा समेत असन्तुष्टि जनाउनुभयो।
“हाम्रो पार्टीमा सदस्यभन्दा कम भोट आयो। सुन्दा लाज हुन्छ,” उहाँले भन्नुभयो।
पार्टीलाई मत नदिने सदस्यको सदस्यता नवीकरण नगर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “सदस्यको नवीकरण गर्नुस्, गैरसदस्यको होइन। नयाँ सदस्य थप्नुस्।”
अध्यक्ष ओलीले पार्टीबाट लाभ लिएका केही व्यक्तिले नै पार्टीप्रति गुनासो गर्ने गरेको टिप्पणी पनि गर्नुभयो। पार्टीभित्र लोकतन्त्र जीवित रहेको र सबैको कुरा सुन्ने गरिएको उहाँको दाबी थियो।
कसैलाई हप्काएर वा दबाब दिएर पार्टी सञ्चालन गर्ने गरिएको भन्ने प्रचार गलत रहेको उहाँले स्पष्ट पार्नुभयो। “कसैलाई हप्काउन पाइँदैन। कोही मालिक र कोही दास छैन,” उहाँले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्