काठमाडौं, भदौ १ । नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण नियमित प्रक्रियामार्फत नै हुने जनाएको छ।
निगमले सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका बिक्रेतामार्फत उपभोक्तालाई ग्यास बिक्री गरिने जनाएको हो। उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।
यसअघि ग्यासको अभाव देखिएपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान तोकेर आफैं ग्यास बिक्री गरेको थियो। तर, अब सरकार आफैं खुद्रा बिक्रेताको भूमिकामा नरहने र नियमित वितरण प्रणालीबाटै ग्यास बिक्री गर्ने निगमले स्पष्ट पारेको छ।
ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाउन निगमले उद्योग, बिक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएका सिलिन्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ।
निगमले घरायसी प्रयोजनका लागि ग्यास आवश्यक पर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री गर्नसमेत उद्योग तथा बिक्रेतालाई निर्देशन दिएको छ।
त्यस्तै, ग्यासको ढुवानी तथा वितरणका क्रममा सुरक्षा व्यवस्था सहज बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ।
निगमका अनुसार पछिल्लो समय बजारमा ग्यासको आपूर्ति बढाइएको भए पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो कायमै रहेकाले वितरण प्रणालीलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको हो।














प्रतिक्रिया दिनुहोस्