काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा स्वागतमा प्रयोग भएका गाडी तथा मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
गत बिहीबार देउवा विदेशबाट स्वदेश फर्किएपछि नेता–कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उहाँको महाराजगञ्जस्थित निवाससम्म स्वागत गर्दै लगेका थिए। सो क्रममा गाडीको ढोकाबाहिर झुन्डिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
ट्राफिक नियम उल्लंघन गरेको भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले देउवा चढेको गाडीका चालकलाई १ हजार रुपैयाँ जरिबाना गरेको जनाएको छ। यात्रु राख्न नमिल्ने स्थानमा यात्रु राखेको कसुरमा कारबाही गरिएको प्रहरीले जनाएको छ।
यस्तै, देउवाको स्वागतमा सहभागी एउटा मोटरसाइकलमा तीन जना सवार रहेको पाइएपछि चालकलाई ५ सय रुपैयाँ जरिबाना गरिएको छ।
प्रहरीले देउवा चढेको गाडीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै दुर्घटनाबाट बच्न ट्राफिक नियमको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्