काठमाडौं, भदौ १। श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाआजा गरी मनाइँदैछ।
यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँस्ने तथा नाग, सर्पलगायत जीवको पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार नागको तस्वीर घरमा टाँस्दा नाग, सर्प र बिच्छीलगायत जीवबाट हुने भय तथा अग्नि, मेघ र चट्याङको जोखिमबाट सुरक्षा हुने विश्वास गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार यस वर्ष जेठमा अधिकमास परेकाले सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो।
वैदिककालदेखि नै नागपूजाको परम्परा रहेको मानिन्छ। नागलाई सर्पको राजा मान्दै वर्षा र पानीसँग समेत जोडेर पूजा गर्ने परम्परा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ।
नागपञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गर्ने परम्परा छ। नागको तस्वीर घरको मूलढोकामाथि टाँसेर दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ।
आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजाआजा भइरहेको छ।
नागपञ्चमीका दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घस्रने जीवलाई मार्न नहुने धार्मिक मान्यता पनि रहेको छ।
नागपञ्चमीपछि वैदिक सनातन धर्मावलम्बीका प्रमुख चाडपर्वको क्रम सुरु हुने परम्परा छ।














प्रतिक्रिया दिनुहोस्