काठमाडौं, भदौ १ । भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजना हुने विशेष समारोहमा जनरल सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुनेछ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुग्नुभएका जनरल सेठले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा नेपाल–भारत रक्षा सहकार्य तथा दुई देशका सेनाबीचको आपसी सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।
जनरल सेठले सैनिक मञ्च टुँडिखेल पुगेर वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा जंगीअड्डामा प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको र नेपाली प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको छ। दुई देशका सेनाबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगको प्रतीकका रूपमा यो परम्परालाई लिइन्छ।
प्रधानसेनापति सिग्देलले पनि गत मंसिर २७ गते नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्नुभएको थियो।
जनरल सेठले गत जुन ३० मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो। नेपाल भ्रमण उहाँको भारतीय प्रधानसेनापति बनेपछिको पहिलो विदेश भ्रमण हो।














प्रतिक्रिया दिनुहोस्