जनता टाइम्स

१ भाद्र २०८३, सोमबार १०:१६

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै


बुटवल, भदौ १ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ।

सत्ता साझेदार नेपाली कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लाग्नुभएको हो।

लुम्बिनी प्रदेश सभामा हाल ८३ सदस्य छन्। बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेकपा एमालेका २९ र नेपाली कम्युनिस्ट पार्टीका सभामुखसहित १३ सांसद छन्।

सरकारलाई बहुमत पुर्‍याउन एमाले र नेकपाले राष्ट्रिय जनमोर्चासँग समेत सहमति गरेका छन्। लोसपा र जनता समाजवादी पार्टी नेपालका एक–एक जना मन्त्री सरकारमा रहेकाले ती दलको समर्थनसमेत प्राप्त भएमा सरकारलाई सुविधाजनक बहुमत पुग्ने देखिएको छ।

एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र मुख्यमन्त्री आचार्यलाई नै निरन्तरता दिने समझदारी भएको छ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि सरकार विस्तार र मन्त्रालय बाँडफाँटको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। हाल मुख्यमन्त्रीसहित एमालेका पाँच, जसपा नेपालका एक र लोसपाका एक जना मन्त्री सरकारमा रहेका छन्।