जनता टाइम्स

१ भाद्र २०८३, सोमबार २०:३९

गगन थापाको दाबी : घरको गेटमा गाडी तेर्स्याउने व्यक्ति प्रहरी रहेछन्


काठमाडौं, भदौ १ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो घरको गेटमा गाडी तेर्स्याइएको घटनामा उक्त गाडी ल्याएर राख्ने व्यक्ति प्रहरी रहेको खुलासा गर्नुभएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापन मन्तव्यका क्रममा थापाले केही समयअघि भएको घटनाबारे जानकारी गराउनुभएको हो।

थापाका अनुसार आफ्नो घरमा आगजनी भएपछि गेटमा एउटा निजी गाडी तेर्स्याएर राखिएको थियो। उक्त गाडी कसले ल्याएर राखेको भन्नेबारे परिवारका सदस्यले खोजी गर्दा चलाएर ल्याउने व्यक्ति प्रहरी रहेको थाहा भएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘केही समयअघि मेरो जलाइएको घरको गेटमा एउटा प्राइभेट गाडी राखियो। त्यो गाडी कसको थियो थाहा भएन।’

गाडी दिउँसो ट्राफिक कार्यालय लगिएको र परिवारका सदस्यहरू गाडीको मालिकबारे जानकारी लिन त्यहाँ पुगे पनि सुरुमा जानकारी नदिइएको थापाले बताउनुभयो।

पछि एक व्यक्ति आफूले उक्त गाडी चलाएर ल्याएको भन्दै ट्राफिक कार्यालय पुगेको र परिचय खोज्दा प्रहरी रहेको खुलेको उहाँको भनाइ छ।

थापाले निजी सम्पत्तिमा क्षति पुर्‍याउन नहुने विषयमा आफू सचेत रहेको बताउँदै घटनाबारे सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने धारणा राख्नुभयो।

यसै क्रममा उहाँले वर्तमान सरकारले देशमा शासकीय अराजकता निम्त्याइरहेको आरोपसमेत लगाउनुभयो।