जनता टाइम्स

१ भाद्र २०८३, सोमबार २०:५३

प्रधानमन्त्री बालेनसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर भदौ १० गते


काठमाडौं, भदौ १ । प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधिसभामा सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने मिति तोक्नुभएको हो।

प्रधानमन्त्री शाह नियुक्त भएयता प्रतिनिधिसभामा नियमित रूपमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन सकेको थिएन। प्रधानमन्त्रीले यसअघि एकपटक संसदमा अनौपचारिक रूपमा सांसदका प्रश्नको जवाफ दिनुभएको भए पनि नियमावलीअनुसार औपचारिक प्रश्नोत्तर हुन सकेको थिएन।

प्रधानमन्त्री सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले पटक–पटक संसद बैठक अवरुद्ध गर्दै आएका थिए। सभामुख अर्यालले सोमबार नै प्रधानमन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको थियो।

सभामुख अर्यालले भदौ १० गते हुने प्रश्नोत्तरका लागि सांसदहरूले भदौ ५ गते दिउँसो १ बजेसम्म आफ्ना प्रश्न दर्ता गराइसक्नुपर्ने जानकारी दिनुभएको छ।

प्रश्नोत्तर कार्यक्रममा प्रत्येक राजनीतिक दलबाट कम्तीमा एक जना सांसदले प्रश्न सोध्न पाउनेछन्। बढीमा १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था गरिएको सभामुख अर्यालले जानकारी दिनुभयो।