जनता टाइम्स

१ भाद्र २०८३, सोमबार २१:०८

म्यानपावर व्यवसायीको आन्दोलन स्थगित, दुई महिनाभित्र माग पूरा हुने सरकारको प्रतिबद्धता


काठमाडौं, भदौ १ । म्यानपावर व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । सरकारसँग सहमति भएसँगै वैदेशिक रोजगार व्यवसायी संघले सम्पूर्ण दबाबमूलक कार्यक्रम स्थगित गरेको हो ।

पन्ध्र बुँदे माग राख्दै गत साउन २२ गतेदेखि आन्दोलित व्यवसायीहरुले आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेका थिए । सोमवार युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा व्यवसायीहरुले अघि सारेका माग आगामी दुई महिनाभित्र सम्बोधन गर्ने सहमति भएको छ ।

योसँगै संघले आन्दोलन स्थगन गर्दै वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम नियमित रुपमा सुचारु गर्न आग्रह गरेको छ । यद्यपि, यो निर्णय संघर्षबाट पछि हटेको नभई सरकारलाई प्रतिबद्धता कार्यान्वयन गर्ने अवसर दिएको संघको भनाइ छ ।

‘तोकिएको समयसीमाभित्र प्रतिबद्धताअनुसार ठोस उपलब्धि हासिल नभएमा व्यवसायीहरुको बृहत छलफल तथा प्राप्त म्याडेण्टअनुसार आवश्यक थप संघर्षका कार्यक्रम अघि अधिकार संघले सुरक्षित राखेको व्यहोरासमेत जानकारी गराइन्छ,’ संघको चेतावनी छ ।

यता, मन्त्रालयका अनुसार संघले उठाएका अधिकांश माग नीतिगत सम्बोधनसँग सम्बन्धित छन् । ती माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेकोले संशोधन प्रक्रिया टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ ।

यस्तै, व्यवसायीका माग सम्बन्धमा आवश्यक प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा आफ्ना विषयवस्तु पेश गर्न सकिने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने सहमति पनि भएको छ ।

विभागबाट समस्या समाधान हुन नसकेमा सम्बन्धित विषयमा मन्त्रालयमा पुनरावेदन गर्न सकिने कानूनी व्यवस्था रहेकोले सोहीबमोजिम गर्ने छलफलसमेत भएको मन्त्रालयले जनाएको छ ।