जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार ०८:५५

‘नमरेसम्म देखेको लेख्न छाड्दिनँ’–श्रेष्ठ


काठमाडौं, २ भदौ । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका पत्रकार किशोर श्रेष्ठले आफूले देखेको र सत्य लागेको विषय जीवनभर लेखिरहने बताउनुभएको छ ।

सोमबार राति जिल्ला प्रहरी परिसरबाट रिहा भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै श्रेष्ठले आफू नहारेको बताउँदै नमरुञ्जेल लेख्न नछाड्ने बताउनुभएको हो ।

‘म हारेको छैन । म हार्दिनँ । म नमरेसम्म मैले देखेको कुरा लेख्न छाड्दिनँ । लेखिरहन्छु,’ उहाँले भन्नुभयो ।

श्रेष्ठले आफू यसअघि पनि पटक–पटक जेल बसेको उल्लेख गर्दै पछिल्लो पटक सत्ताविरुद्ध लेखेकै कारण पक्राउ परेको दाबी गर्नुभयो । गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन आफूले सार्वजनिक गरेको र त्यसप्रति केही व्यक्ति असन्तुष्ट रहेको उहाँको भनाइ थियो ।

उहाँले आफूलाई पक्राउ गरेर अनुसन्धान गर्नुको साटो मानसिक दबाब दिने प्रयास भएको दाबी गर्नुभयो । ‘सोधपुछ नै भएन । लगेर थुन्ने र अरू मुद्दाहरू लगाउने उद्देश्य थियो,’ उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतले सोमबार श्रेष्ठलाई हिरासतबाट मुक्त गरी हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

अदालतले जनआस्था प्रकाशनको कार्यालय र श्रेष्ठको निवासबाट प्रहरीले बरामद गरेका सञ्चार उपकरणसमेत फिर्ता गर्न आदेश दिएको छ । बरामद ६ थान सीपीयू, कम्प्युटर, मोबाइल, ल्यापटप र आइप्याड अदालतका सहरजिस्ट्रारको रोहबरमा सरस्वती श्रेष्ठलाई फिर्ता गर्न आदेश दिइएको छ ।

श्रेष्ठविरुद्ध परेको जाहेरीमा उल्लेखित तस्वीर जाहेरवालाले नै यसअघि सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको देखिएको र उक्त तथ्यलाई प्रहरीले खण्डन गर्न नसकेको अदालतले जनाएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई ध्यानमा राख्दै वैयक्तिक गोपनीयताको विषयमा नियामक निकायमा उजुरी नगरी सोझै प्रहरीमा जाहेरी दिएकै आधारमा पत्रकारलाई थुनामा राख्नु उपयुक्त नभएको सर्वोच्चको ठहर छ ।

जनआस्था अनलाइनमा साउन २५ गते प्रकाशित समाचार तथा तस्वीरलाई लिएर वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठविरुद्ध जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा प्रहरीले साउन २७ गते उहाँलाई पक्राउ गरेको थियो ।