काठमाडौं, भदौ २ । उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ ।
लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहकार्यमा पर्व सुरु भएको हो ।
खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदिलो हुने समयमा मनाइने यार्तुङलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा पुस्तौँदेखि मनाउँदै आएको स्थानीय बताउँछन् । स्थानीय बुझाइअनुसार ‘यार’को अर्थ बर्खा र ‘तुङ’को अर्थ मनाउनु हो ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि उपल्लो मुस्ताङसम्मका स्थानीयले यार्तुङलाई विशेष पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । पर्वमा घोडादौड, स्थानीय नाचगान, खानपान तथा विभिन्न सांस्कृतिक गतिविधि हुने गरेका छन् ।
लोमान्थाङमा सुरु भएको तीनदिने पर्वको पहिलो दिन मुस्ताङी २६औँ सांस्कृतिक राजा जिग्मे परवल विष्टको उपस्थितिमा कार्यक्रम गरिएको थियो । दोस्रो दिन मुस्ताङी सांस्कृतिक राजा–रानीको उपस्थितिमा कार्यक्रम हुने र अन्तिम दिन विभिन्न गुम्बाका लामाको उपस्थितिमा धार्मिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
पर्वको पहिलो दिन लोमान्थाङ बजारदेखि करिब दुई किलोमिटर दूरीमा घोडादौड आयोजना गरिएको थियो । घोडादौडका क्रममा स्थानीय चार समाजले बाटोमा राखेका मिठो रोटी, याकको टाउकोको आकृति, प्लास्टिकका ऐना तथा च्याङ्ग्राको खुर ढुंगाले हानेर फुटाउने सांस्कृतिक परम्परासमेत प्रदर्शन गरिएको स्थानीय भिछिरिङ गुरुङले बताउनुभयो ।
यार्तुङ पर्वमा घोडाचढी संस्कृतिलाई विशेष महत्व दिइन्छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्रदेखि माथिल्लो क्षेत्रसम्म मनाइने विभिन्न चाडपर्वमा घोडाचढी महत्वपूर्ण मानिन्छ ।
यार्तुङ पर्वको दोस्रो दिन घोडादौड प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले २ लाख ५० हजार, द्वितीय हुनेले १ लाख ५० हजार र तृतीय हुनेले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पर्वको संरक्षण तथा प्रवर्द्धनका लागि गाउँपालिका र एक्यापले संयुक्त रूपमा आयोजना तथा व्यवस्थापनमा सहयोग गर्दै आएका छन् ।
युवा पुस्ता विदेशिने क्रम बढिरहेका बेला स्थानीय परम्परा र संस्कृति संरक्षण गर्न पर्वलाई व्यवस्थित र सभ्य रूपमा मनाउन जोड दिइएको उहाँले बताउनुभयो ।
यार्तुङ पर्वको पहिलो दिन स्वदेशी तथा विदेशी पर्यटकसमेत लोमान्थाङ पुगेर पर्वको अवलोकन गरेका थिए । पछिल्लो समय पर्वमा विदेशी पर्यटकको सहभागिता बढ्दै गएको स्थानीयले बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्