जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार ११:४०

धार्मिक, जातीय र क्षेत्रीय अतिवादको एजेण्डा आत्मघाती सोच : शंकर पोखरेल


काठमाडौं, भदौ २ । नेकपा एमालेका सचिव शंकर पोखरेलले समाज विकासको मूल आधार उत्पादक शक्तिको विकास भएको बताउनुभएको छ। उहाँले गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिततामार्फत उत्पादक शक्तिको विकास गर्नुपर्नेमा जोड दिनुभएको हो।

उहाँले उन्नत समाज निर्माणका लागि वर्गदृष्टिकोणमा आधारित सही राजनीतिक चेतना, सिद्धान्त, संगठन र संघर्षको समेत आवश्यकता रहेको बताउनुभएको छ। संविधानले समाजवादउन्मुख व्यवस्थाको दिशानिर्देश गरे पनि लोकतान्त्रिक बाटोबाट त्यसको आधार तयार हुन नसक्नुको मुख्य कारण यिनै आधारभूत विषयमा पर्याप्त ध्यान नपुग्नु रहेको उहाँको भनाइ छ।

संविधान, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनतामाथि संकट देखिएको वर्तमान अवस्थामा प्रमुख राजनीतिक दलहरूले व्यापक जनजागरण अभियान सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने पोखरेलले बताउनुभएको छ। उहाँले अर्थतन्त्रको विकासलाई समेत उत्पादन शक्तिको विकासतर्फ केन्द्रित गर्नुपर्ने धारणा राख्नुभएको छ। “यसविपरीत समाजलाई धार्मिक, जातीय र क्षेत्रीय अतिवादको गलत एजेण्डामा लतारेर गुमेको राजनीतिक साख र जनसमर्थन फिर्ता हुन्छ भन्ने ठान्नु आत्मघाती र गलत सोच हो,” पोखरेलले भन्नुभएको छ।

उहाँले समाज विकासका आधारभूत आवश्यकतालाई सम्बोधन नगरी राजनीतिक समर्थन पुनः प्राप्त गर्ने प्रयास प्रभावकारी नहुने स्पष्ट पार्नुभएको छ।